विराटनगर । कोशी प्रदेश सरकारले कृषि मन्त्रालय अन्तरगतका करार कर्मचारीको म्याद थप गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको कृषि मन्त्रालय मातहतमा करारमा नियुक्ति भएर काम गर्दै आएका करारका कर्मचारीहरूलाई ६ महिनाको लागि म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिए । तालिमको लागि चीन जान लागेका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेश कुमार सिंहलाई चीन सरकारकै आर्थिक सहयोगमा तालिममा पठाउन अनुमती प्रदान गरेको अधिकारीले बताए ।
बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित तत्काल उद्धार गर्नुपर्ने नेपाली नागरिकलाई तत्काल उद्धार गर्न नेपाल फर्काउने वातावरण गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। काम चलाऊ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आउँदै गरेको नेपालीहरूको महान् चाडहरूको शुभकामना दिने निर्णय गरेको छ।