विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति गर्ने बारेमा प्रदेश प्रमुख अलमलमा परेका छन् । उनले शनिवार बिहान ८ बजेदेखि २ बजेसम्मको समय सनाखतको लागि समय तोकिएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रवार ५ बजेसम्मको लागि तोकिएको समय सीमा टरेको छ । आफैैंले दिएको समय सकिएपछि पनि बहुमत सांसदको हस्ताक्षरसहित स-शरीर उपस्थित भएका केदार कार्की पक्षलाई उनले सनाखत गरेर मात्र नियुक्ति गर्ने अडान प्रदेश प्रमुखले लिएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले साँझ सूचना जारी गर्दै भोलि शनिवार बिहान ८ देखि २ बजेसम्म दुवै पक्षकालाई सनाखतका लागि बोलाइएको छ । कार्कीलाई बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि समय दिइएको छ भने त्यस पछि अर्का दाबीकर्ता इन्द्रबहादुर
आङ्बोलाई
२ बजेसम्मको समय छुट्ट्याएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
केन्द्रमा काँग्रेस बैठकमा प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएर काङ्ग्रेसबाटै अर्को नाम दिन वा गठबन्धनका उम्मेदवार इन्द्र आङ्बोलाई समर्थन गर्नका लागि गरिएको आग्रह डा.शेखर कोइरालाले नमानेपछि प्रदेश प्रमुखलाई आज नियुक्ति नगर्न दबाब परेको थियो ।
केन्द्रबाटै गठबन्धनका नेताहरूले शनिवार बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख परशुराम खापुङलाई रात टार्न दबाब दिइएको स्रोतले जनाएको छ । त्यसपछि उनले गठबन्धनलाई पर्याप्त समय पुग्ने गरी दिउँसो २ बजेसम्मको समय दिएर सूचना टाँसेका हुन् ।