विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले उपस्थित सांसदहरुलाई सनाखत गराएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली काँग्रेस डा शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सदस्यले प्रदेश प्रमुखको अगाडी स-शरीर उपस्थित भएर हस्ताक्षर गरेका छन् । उनी कोशी प्रदेशको आठौँ मुख्यमन्त्री हुन् । नेपाली काँग्रेस भित्र भाँडभैलो भएपछि उनी ८ जना सांसद सहित नेकपा एमालेसँग सहकार्य गर्न गएका थिए । नेकपा एमालेले ४७ जना पुर्याउने वातावरण बनाएर आउने जो कोहीलाई सहयोग गर्ने बताउँदै आएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएपछि कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने अवस्था आउन नदिने बताएका छन् । ‘नेपाली काँग्रेस सत्ता पक्ष नै हो उनले भने, दलको नेता प्रतिपक्षमा बस्ने र आफू मुख्यमन्त्रीमा बस्ने खालको अवस्था आउन दिइँदैन ।’