विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपाली काँग्रेस नेतृत्वको सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताएका छन् । सामाजिक सञ्जालमा आङ्बोले पहिलो सरकारलाई सभामुखको हस्ताक्षर गराएर र दोस्रो सरकार बनाउने बेलामा  सभामुखबाट राजीनामा गराएर सहयोग गरेको बताएका हुन्  । नेपाली काँग्रेसलाई सरकार बनाउन सहयोग गरिएको भए पनि गठबन्धनको निर्णयलाई काँग्रेस भित्रको गुट उपगुटको कारण काँग्रेसले कोशी प्रदेशमा निर्णय कार्यान्वयन गर्न नसकेको उल्लेख गरेका हुन् । प्रदेश सरकारको गठनमा सुविधा जनक बहुमत र विश्वासको मत प्राप्त गर्ने भरोसा सहित केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीको उम्मेदवार बनाउन गरेको निर्णयप्रति उनले आभार व्यक्त गरेका छन् ।  
उनले लेखेका छन्-
सार्वजनिक जानकारीको निम्ति
–गठबन्धन खास गरी काङ्ग्रेस कै आग्रहमा हामी एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भयौँ।
–गठबन्धनको कठिन अङ्क गणितको बाबजुद बहुमत पुर्‍याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दल सङ्ग हुँदा पनि गठबन्धनको संबेदनसिलतालाइ ख्यालमा राखेर मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबीलाई हामीले स्वीकार गर्‍यौ।
–पहिलो पटक सरकार गठनमा काङ्ग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौँ ।
–मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि काङ्ग्रेस कै नेतालाई मुख्यमन्त्री बनाउन माओवादीसँग भएको सभामुख समेत राजीनामा गराएर बहुमत सहित सरकार गठन गर्न तयार भयौँ।
–२–२ पटक काङ्ग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछी गठबन्धन भित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधार सहित प्रदेशलाई स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबी गरेका हौँ।
–हामीले गठबन्धन र सत्ता सहकार्य काङ्ग्रेससँग  गरेको हो गुट,उपगुट र पार्टी भित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं काङ्ग्रेस कै हो, पार्टीको आधिकारिक निर्णय काङ्ग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो काङ्ग्रेसको कुरा हो।
–सत्ता गठबन्धन भित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआवस भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनु भएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौं।
– प्रदेश सरकार गठनमा सुविधाजनक बहुमत र विश्वासको मत प्राप्त गर्ने भरोसा सहित केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरेको निर्णयप्रति सधैँ आभारी रहने छु तपाईँहरूले गर्नुभएको विश्वास र भरोसा डगमगाउन दिने छैन। – अन्त्यमा हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधैँ इमानदार र प्रतिबद्ध रहने छ।धन्यवाद aangbo