विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् ।  नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री भएका कार्कीले आज दिउँसो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्  । नेपाली काँग्रेस दलको निर्णयले मुख्यमन्त्रीमा नेकपा माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको भएपनि कोइराला समूहका कार्कीले ८ जना सांसद सहित एमालेसँग मुख्यमन्त्रीकोलागि प्रस्ताव गरेका थिए।  
एमालेले उनको ८ जना सांसदमा ३९ जना सांसद थपेर ४७ जना पुर्याईदिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  कार्की नेपालको संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले नेपालको संविधानको धारा १६८ (४) अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। 
कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै एमालेबाट राम राना र कांग्रेसकै विद्रोही मध्येबाट सम्शेर राई मन्त्री भएका छन् । 
मङ्गलवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधवारको  मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । सत्ता गठबन्धनको निर्णय विपरीत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरे पनि माओवादी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने बताउँदै आएका छन् । कार्कीकै प्रतिस्पर्धीको रूपमा मुख्यमन्त्रीको दाबी गर्न गएका आङ्बोले विश्वासको मत दिन गरेको निर्णयलाई कतिपयले सत्तामा टाँसिन गरिएको प्रपञ्चको रूपमा लिएका छन् । ‘सत्ता बाहिर बस्नै नचाहने प्रवृत्ति माओवादीमा छ, काँग्रेसका एक सांसदले भने, कोशी प्रदेशमा गठबन्धन भत्किसकेको अवस्था अनि  जसको प्रतिस्पर्धी बनेर आङ्बो जी जानु भएको थियो, अहिले कुन मुखले विश्वासको मत दिन खोज्दै हुनुहुन्छ ।’  माओवादी प्रवृत्ति पछिल्लो समय जसरी हुन्छ सत्तामा बस्ने, कोशी प्रदेशलाई अस्थिर बनाउने उद्देश्यबाट प्रेरित भएको ती सांसदले बताएका छन् । 

राप्रपाले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।