झापा । झापाको दमकबाट प्रहरीले लागु औषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका ५ सुकुम्वासी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समीर गजमेर, २४ वर्षीय रोशन माझी, दमक ६ का २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बु रहेका छन् । समीर गजमेरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।