विराटनगर । विराटनगरका मेयर नागेश कोइराला २४ दिने अमेरिकाको भ्रमण पुरा गरी फर्किएका छन् । विराटनगरको दीर्घकालीन समस्याका रूपमा रहेका बाढी, डुबान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यवस्थापनमा सहकार्य गर्ने सहमति गरेर फर्किएका हुन्  । अमेरिकाका विभिन्न महानगरका मेयरहरूसँग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको मेयर कोइरालाले बताए ।  ती बैठकहरूबाट समेत सहयोग आदान प्रदान हुने उनले स्पष्ट पारे ।
महानगर पालिकाको कार्यालय र वडाहरूबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरू भौतिक रूपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ ।  त्यो समस्या समाधान गर्न अमेरिकाका महानगरपालिकाहरूले गर्दै आएका अभ्यासलाई कार्यान्वयन गराउने बारेमा पनि तयारी गरिने बताए। 
न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनै पनि सेवाग्राही नै नभेटिने गरी उनीहरूले सम्पूर्ण सेवाहरू इन्टरनेट मार्फत उपलब्ध गराएका छन् । ‘त्यो पद्धतिमा विराटनगर महानगरलाई पनि लान सकिन्छ की भनेर पनि छलफल भएको छ,उनले भने न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आएपछि दुवै महानगर बिच भगिनी सम्बन्धमा हस्ताक्षर हुने र साझा समस्याहरूमा समाधानका लागि कसरी अघि बढ्ने तय हुनेछ ।’
फोहर ब्यवस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्छ तर त्यहाँ त्यो प्लान्ट ४ विलियन डलरमा बनेको हो, हामीले त्यति खर्च गर्न नसके पनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सकिने मेयर कोइरालाको भनाई छ।  त्यहाँ प्लान्ट जडान गर्ने प्राविधिकहरू आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि  डिपिआरको काम अघि बढ्ने उनले बताए ।   
संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यवसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी भएर २४ दिन पछि मेयर कोइराला विराटनगर आइपुगेका हुन ।  ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा मेयर कोइरालाले विराटनगरको विकाससँग जोडिएका विषयलाई समेत सेमिनारमा राखेका थिए ।  टेक्ससमा भएको सेमिनारमा सहभागी भएर मेयर कोइरालाले विभिन्न महानगरका मेयर, सिनेटरहरूसँग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।