विराटनगर । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सकस परेको छ ।
केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको निरन्तरको दबाबका कारण उनले कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् ।
दसैँ अगाडि नै मन्त्री परिषद् विस्तारको तयारी भए पनि शीर्ष नेताहरूको दबाबका कारण उनले अहिले सम्म मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । उनी मन्त्री परिषद् विस्तारका लागि थप छलफल गर्न पुन काठमाडौँ पुगेका छन् ।
संविधानको धारा १६८ (५) अन्तरगत एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएसँगै छलफलका लागि उनी काठमाडौँ गएका थिए ।
काठमाडौँ पुगेर फर्किएसँगै उनले एमालेका राम राना र काँग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका छन् ।
एमालेसँगको सहकार्य तोड्न निरन्तर केन्द्रबाट दबाब आएपछि कोशी प्रदेशको सत्ता सहयात्री एमालेलाई मन्त्री परिषद् विस्तारका लागि समय माग गर्दै थप छलफलका लागि मुख्यमन्त्री कार्की काठमाडौँ गएका छन् ।
उनले एमालेसँगको भेट र छलफलमा भने एमालेको माग र सर्त भन्दा विपरीत गएर मन्त्रीपरिषद् विस्तार नगर्ने प्रतिबद्धता जनाएका छन् । दसैँ बिदाका बेला एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीसँगको भेटमा मुख्यमन्त्री कार्कीले एमालेसँगको सहकार्य आफूले तोड्न नसक्ने भन्दै नेताहरूसँग छलफलका लागि समय माग गरेका थिए ।
उनी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतलाई भेट्न उनको निवास झापाको गौरा दह नै पुगेका थिए । गौरा दहमा भएको भेटमा मुख्यमन्त्री कार्कीले एमालेको माग र सर्त विपरीत मन्त्री परिषद् विस्तार नगर्ने बताएका थिए ।
एमालेले भने कोशी प्रदेशको सत्तामा माओवादीलाई पनि ल्याइए एमाले सरकारमा नबस्ने स्पष्ट पारेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले भने, ‘यदि मन्त्री परिषदमा माओवादीलाई पनि सामेल गराइए हामी सरकारमा बस्दैनौ प्रतिपक्षमा बस्छौ ।’
उनले भने अहिले सम्म मुख्यमन्त्री एमालेप्रति पोजेटिभ हुनुहुन्छ । उहाँ काठमाण्डौबाट फर्किएपछि थप छलफल गरेर मन्त्रीपरिषद्को टुङ्गो लाग्छ ।
एमालेले मुख्यमन्त्री कार्कीसँग छलफल गरेर मन्त्रीपरिषद्का बारेमा टुङ्गो लगाउन दलका उप नेता तथा मन्त्री राम राना र प्रमुख सचेतक भण्डारीलाई जिम्मेवारी दिएको छ ।