झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गरेका छन् ।  आइतबार नेपाली काँग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम लार्य सम्बोधन गर्दै  कार्कीले सर्वदलीय सरकारको गठन कोशी प्रदेशको आवश्यकता रहेको बताए ।  नेकपा एमालेको साथमा मुख्यमन्त्री बनेका कार्कीले सरकार विस्तार गर्न सकेका छैनन् । 

संविधानको सदुपयोग गर्दा पार्टी भित्र विद्रोह गरेको रूपमा लिनु नहुने समेत उनले स्पष्टीकरण दिए ।  पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनले प्रतिबद्धता जनाए ।

नेपाली काँग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँच वर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको दाबी गरे । 

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रूपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताकालागि गौरवको विषय भएको बताए । कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई छ ।