विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादीले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री कार्कीले हटाउन नसक्ने जवाफ फर्काएका छन् । एमाले बिना कोशी प्रदेश सरकार चल्न नसक्ने जवाफ दिएका हुन् । एमालेको समर्थनमा मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने कार्कीले जवाफ दिएका हुन् ।
मुख्यमन्त्री र एमालेबिच सोमबार भएको वार्तामा कार्कीले भने ‘एमाले विनाको सरकार गठन गरौँ भनेर दबाब आएको छ मैले स्पष्ट रूपमा भनेको छु । कोशी प्रदेशमा एमाले विना सरकार चल्न सक्दैन ।’
कार्की एमालेका ३९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरको आधारमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि काँग्रेस डा शेखर कोइराला समूहका नेता कार्कीले एमाले र काँग्रेसबाट मन्त्री परिषद् विस्तारको तयारी गरेका छन् ।
मन्त्री परिषद् विस्तारको तयारीमा रहेका कार्की माथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमाले विनाको मन्त्री परिषद विस्तारका लागि निरन्तर दबाब दिएको श्रोतको दाबी छ। बैठकमा सहभागी एमाले संसदीय दल कोशी प्रदेशका सचेतक रेवती रमण भण्डारीले मन्त्री परिषद् विस्तारको तयारी लगभग सकिएको र भोलीसम्ममा अन्तिम टुङ्गो लाग्ने बताए । ‘एमालेका तर्फबाट हामीले कुरा राख्यौ । हाम्रा तयारीका बारेमा र प्रस्तावका विषयमा कुरा भयो, उनले भने, उहाँले पार्टीसँग थप छलफल गरेर टुङ्गो लगाउने भन्नु भएको छ । भोलीसम्ममा सबै कुरा मिल्छ ।’
एक दुई दिन भित्रमै कोशीमा मन्त्री परिषद् विस्तार हुने भण्डारीले बताए । बैठकमा मन्त्री परिषद् विस्तार, न्यूनतम साझा नीति तथा कार्यक्रम, बजेट लगायतका विषयमा छलफल भएको छ । एक दुई दिन भित्रमा सबै कुरा मिल्ने भण्डारीको दाबी छ । कात्तिक १ गते विश्वासको मत पाएका कार्कीले असोज २८ गते २ जना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्री परिषद् विस्तार हुन सकेको छैन ।