इटहरी । इटहरीमा ३ दिने अन्तरदेशीय नाटक महोत्सव आयोजना हुने भएको छ । कात्तिक १९ गते देखी २१ गते सम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुने कलालय इटहरीले जनाएको छ ।
नाटक इटहरी उपमहानगरपालिका ६ स्थित तायरिप्ची भवनमा देखाईनेछ । नाटक सशुल्क हेर्ने व्यवस्था मिलाईएको छ ।
नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरुले नाटक प्रस्तुत गर्नेछन् । ३ दिन सम्म चल्ने महोत्सवमा ४ वटा नाटक मञ्चन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।
नेपालका ३ संस्थाहरुले ३ वटा नाटक मञ्चन गर्नेछन् भने भारतको पश्चिम बंगालबाट आएको रंगमञ्च टोलीले एक नाटक मञ्चन गर्ने जनाईएको छ ।
नेपालको तर्फबाट कलालय इटहरीले ‘सत्रु’, कदम थियटर दमकले ‘जयमाया आफु मात्रै लिखापानी आईपुगी’ र आरोहण गुरुकुल विराटनगरले नाटक नेता जी मञ्चन गर्ने छ ।
पश्चिम बंगाल भारतबाट आएको संस्थाले एक नाटक एक टु अगुन्डे प्रर्दशन गर्ने कलालयका अध्यक्ष जयन्तीले जानकारी दिए । पश्चिम बंगालबाट नाटक मञ्चनका लागि रंगकर्मीहरुको टोली १८ कात्तिकमा इटहरी आईपुग्ने अध्यक्ष जयन्तीले बताए ।
यस अघि कलालय इटहरीकै आयोजनामा कोभिड १९ को संक्रमण अघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यस बेला पनि नेपाल र भारतका एक एक नाटक मञ्चन गरिएको थियो ।
प्रत्येक बर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिड १९को संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीले बताए ।
अन्र्तराष्ट्रिय स्तरकै नाटक महोत्व आयोजना गर्ने योजना रहेको कलालयले जनाएको छ ।
अहिले दुई देशका नाटक मञ्चन हुँदै आएको भएपनि आगामी बर्ष अन्य देशका नाटकहरुलाई पनि समावेश गर्दै जाने योजना रहेको आयोजक कलालयले जनाएको छ ।
बंगलादेशका विभिन्न रंगकर्मीहरुसँग यस विषयमा छलफल भईरहेको र आगामी बर्ष देखी समावेश गर्ने तयारी रहेको अध्यक्ष सोनु जयन्तीले बताए ।