विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सफाइ महिला कर्मचारीहरूलाई पोसाक वितरण गरेको छ ।
विराटनगरस्थित बालिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले घर–घरमा गएर सरसफाइ गर्ने महिलाहरूलाई पोसाक वितरण गरेको हो । कार्यक्रम विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सफाइ महिला कर्मचारीलाई सारी, चोलो, खाजा, मिठाई र जुस वितरण गरिन् ।  तिहार र छठ पर्वलाई ध्यानमा राखेर ५० जना सफाइ कर्मचारीलाई पोसाकसहितका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक गिरिजा सारडाले जानकारी दिइन् ।
त्यस्तै सोही अवसरमा प्लास्टिकको झोला प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यका साथ कपडाको झोलासमेत वितरण गरिएको थियो । बालिका विद्यालयको पर्खालमा नेपालको संस्कृति र कला झल्किने चित्रहरू बनाइएको आयोजक संस्थाकी अध्यक्ष  कुसुम सेनवालाले बताइन् । 

कार्यक्रममा उपमेयर कार्कीले विराटनगरको विकासमा रोटरीजस्ता सामाजिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरिन् ।  सबैको सहकार्यले मात्रै विराटनगरको चौतर्फी विकास हुने उनको  भनाई छ ।