विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहयात्री दल नेकपा एमालेसँग सल्लाह नै नगरी मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् ।  शुक्रवार बिहान नेकपा एमाले र काँग्रेस सहित मुख्यमन्त्रीसँग भएको छलफलको क्रममा  एमाले र काँग्रेसले सरकार बनाउने सहमति भएको थियो । दिउँसो गठबन्धन दलहरू बिच भएको छलफल पछि कार्की एकाएक सरकार बिस्तार गर्ने तयारीमा पुगेका हुन् । साँझ ६ः३० बजेलाई मन्त्री नियुक्तिपछि शपथको तयारी भएको  छ ।  अहिले नेकपा माओवादीबाट एक जना र नेकपा एकीकृत समाजवादीका एक जनालाई मन्त्री बनाउने तय भएको नेपाली काँग्रेसका सांसद हिमाल कार्कीले जानकारी दिए ।  ‘माओवादी र  एकीकृत समाजवादीको एक एक जना मन्त्री बनाउने सल्ला भएको छ, उनले भने, बिहान एमालेसँग पनि छलफल हुँदा कोशी प्रदेशको अबस्थालाई हेरेर सर्वदलीय सरकार बनाऊँ भन्ने हाम्रो प्रस्ताव थियो,उहाँहरूबाट जवाफ आएको छैन ।’
नेपाली काङ्ग्रेसबाट विद्रोह गरेर कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा  एमालेको समर्थनमा दाबी पेस गर्न गएका केदार कार्की अहिले एमाले बाहेकको सरकार बनाउने रणनीतिमा लागेका हुन्  ।  बिहानको बैठकमा काँग्रेस एमाले मिलेर सरकार बनाउने भन्ने बारेमा छलफल भएको नेकपा एमाले संसदीय दलका उपनेता तथा सरकारका मन्त्री राम रानाले बताए । 

‘मुख्यमन्त्री ज्यूसँग एमालेको बिहान पनि छलफल भएको थियो, उनले भने, हामीले एमाले र काँग्रेस मिलेर सरकार बनाऊँ भनेर उठेका हौँ, अहिले सरकार बिस्तार गर्ने बारेमा थाहा छैन ।’ साँझ ६ः३० बजे कोशी प्रदेश प्रमुखको कार्यालयमा शपथको कार्यक्रम तय भएको छ।  नेकपा एमालेले भनेँ सहयात्री दलसँग सहकार्य नै नगरी मन्त्री परिषद् बिस्तार हुन लागेको हो भने त्यो राम्रो नभएको प्रतिक्रिया दिएको छ ।