विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई सरकारमा भित्र्याउने भएका छन् । नेकपा एमालेको समर्थनमा ८ जना काँग्रेसका सांसद लिएर पार्टीबाट विद्रोह गरी मुख्यमन्त्री भएका कार्कीले सरकारमा दुई मन्त्री थप्ने तयारी गरेका हुन् । नेकपा माओवादीका गणेश उप्रेती (सुशील) र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाउन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई राप्रपा बाहेकका सबै सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मत पाए लगत्तै अधिकांश समय बिताएका कार्कीले सहयात्री दल एमालेसँग छलफल नै नगरेको आरोप लाग्दै आएको थियो । मुख्यमन्त्री कार्की काठमाडौँबाट विराटनगर नै आई झापा लगायतको कार्यक्रममा सहभागी हुने तर सरकार बिस्तार गर्ने बारेमा आलटाल गर्दै आएको आरोप एमालेले लगाउँदै आएको थियो ।
एकाएक मुख्यमन्त्री कार्कीले सरकारमा मन्त्री थप गर्दै गठबन्धन दल माओवादी र एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउँदै छन् । जबेगु र उप्रेतीको केही बेरपछि प्रदेश प्रमुख कार्यालय शपथको तयारी भएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रका उप्रेती मोरङ क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद हुन भनेँ एकीकृत समाजवादीका जबेगु पाँचथरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । जबेगु यसअघि पनि दुई पटक मन्त्री भएका थिए । गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा यसअघि एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राई मन्त्री नियुक्त भएका छन् ।