विराटनगर । एकीकृत माओवादीका गणेश उप्रेती सुशील र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु कोशी प्रदेश सरकारको मन्त्री हुने भएका छन् । उनलाई मुख्यमन्त्री केदार कार्कीले मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउने सहयोग गरेको एमालेको असहमतिका बाबजुद मुख्यमन्त्री कार्कीले उप्रेती र जवेगुलाई मन्त्री नियुक्त गर्ने र आजै शपथ खुवाउने तयारी गरेका छन् ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङको सचिवालयका अनुसार आजै साँझ साढे ६ बजे शपथग्रहणको तयारी गरिएको छ । उप्रेती माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१)बाट निर्वाचित भएका थिए । कमल जवेगु भने पाँचथरबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । मन्त्री नियुक्त हुन लागेका हुन् ।

माओवादीका उप्रेती पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने जबेगु यसअघि पनि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद्मा यसअघि एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राई मन्त्री नियुक्त भएका छन् ।

राम रानाले राजीनामा दिदैँ 

आफूहरूसँग भएको सहमति विपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले माओवादी र एकिकृत समाजवादीलाई सरकारमा लगेपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । सहमति विपरीत माओवादी र एकीकृत समाजवादीलाई सरकारमा लगेपछि सरकारमा रहेका मन्त्री राम रानालाई एमालेले  राजीनामा गराउने तयारी गरेको हो ।

एमालेले भोली रानालाई राजीनामा गराउने तयारी गरेको एमाले श्रोतले जनाएको छ । उनी असोज २७ गते मुख्यमन्त्रीका केदार कार्की नियुक्त भएसँगै मन्त्री नियुक्त भएका थिए । उनलाई अहिले सम्म जिम्मेवारी समेत दिइएको छैन । 

माओवादी र एकीकृत समाजवादी समेतलाई सरकारमा लगेपछि हामी सरकारमा बसिरहनु उपयुक्त छैन । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले भने। आवश्यक छलफल गरेर भोलीबाट सरकारबाट बाहिरिन्छौ ।