विराटनगर । कोशी प्रदेश सभाको लामो समयदेखि स्थगित भएको बैठक सोमबार बस्दैछ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि स्थगित भएको बैठक सोमबार बस्न लागेको हो । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले कात्तिक १ गते एमाले सहित गठबन्धन दलले समेत विश्वासको मत दिएको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएर स्थगित भएको प्रदेश सभाको सोमबार प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक बस्न लागेको हो । सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा प्रदेशको बजेट छलफल हुने बताइएको छ । मुख्यमन्त्री कार्कीले शनिवार पत्रकार सम्मेलन गर्दै प्रदेश सभाको बैठकले संसदीय समितिहरू बनाउने जानकारी दिएका थिए । चाँडै कोशी प्रदेश सरकारले पूर्णता पाउने दाबी गरेका कार्कीले अब संसदीय समिति समेत तत्काल गठन हुने गरी तयारी भइरहेको बताए ।