विराटनगर । कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताएका हुन् ।
प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’
उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था आग्रह गरे ।
प्रदेश सभा सदस्य गोविन्द गिरीले कोशी प्रदेशको राजनीतिक खिचातानीले गर्दा कोशी प्रदेशमा सभामुख नभएको अवस्थामा तत्काल सभामुख बनाउनु पर्ने बताए । उनले कृषि क्षेत्रलाई ध्यानमा राखेर कृषि र पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
त्यस्तै सुनसरीका प्रदेशसभा सदस्य सदानन्द मण्डलले बराह नगरपालिकाका २ वटा वडा र उदयपुरको ५ वटा वडा सप्तकोसी नदीको बिचमा रहेको गरैया टापु र सिलिया टापुमा शिक्षा र स्वास्थ्यको समस्या रहेकोब बताए । उनले त्यो ठाउँमा कक्षा ८ सम्म मात्र पढाई हुने र त्यसभन्दा माथिको विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित रहेको जानकारी गराए । गरैया टप्पु र सिलिया टापुमा ७ हजार ६५९ घर परिवार रहेको बताएका उनले कक्षा ८ भन्दा माथिको पढाई र एउटा पनि एम्बुलेन्स नभएको अवस्थामा गुणस्तरीय स्वास्थ्यमा ध्यान दिन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराए । कोशी प्रदेश सभाको मंगलवारको बैठकमा जनता समाजवादीकी सांसद निर्मला लिम्बुले विशेष समय लिएर बोलेकी छिन् ।