सुनसरी । पछिल्लो समय विवादित अभिव्यक्ति दिँदै आलोचित बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाई इटहरीको एक कार्यक्रममा आउने भएपछि प्रहरीको लागि टाउको दुखाईको विषय बनेको छ ।
पछिल्लो समय नेकपा एमाले र उसको भातृसंगठन युवासंघ नेपालप्रति आक्रामक तथा विवादित अभिव्यक्ति दिँदै आएका प्रसाई इटहरी १९ तरहरा स्थित ब्रह्मपुरमा सञ्चालन भइरहेको फुटबल प्रतियोगितामा प्रमुख अतिथीकोरुपमा सहभागी हुन आउने भएका हुन । एपिएफ सुनसरी र पाञ्चायन फुटबल क्लब राम धुनीबिच हुने दोस्रो क्वाटर फाइनल खेलका लागि प्रमुख अतिथिका रूपमा आयोजकले प्रसाईंलाई बोलाएपछि सुरक्षा व्यवस्था कडा पार्ने प्रहरीको भनाई छ ।
प्रसाईलाई तरहरा चोकबाटै आयोजक युवाहरूको समूहले स्वागत गर्ने तयारी गरेको बताइएको छ । युवासंघका कार्यकर्ताले प्रसाईको विरोध गर्दै प्रदर्शन गर्ने सम्भावना भएकाले सुरक्षा व्यवस्था कडा पार्ने तयारी प्रहरीको छ ।
व्यवसायी प्रसाई दुई बर्सअघि नेकपा एमालेमा प्रवेश गरेका थिए । यसअघि माओवादी निकट मानिने उनी केपी ओली सत्तामा पुगेपछि ओलीसँग नजिकिएका थिए । तर २०७९ फागुन १३ गते नेकपा एमालेले पार्टीका केन्द्रीय प्रसाईलाई बर्खास्त गरेको थियो ।
सचिवालय बैठकले पार्टीको नीति र उद्देश्य विपरीत झापामा पूर्व राजा ज्ञानेन्द्र शाह सहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुआत घोषणा गरेपछि प्रसाईलाई बर्खास्त गरेको थियो ।
त्यसयता उनी एमाले र युवा सङ्घप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।