सुनसरी । युवासंघका कार्यकर्ताले विरोध गर्ने तयारी गरेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँ इटहरीको कार्यक्रममा नआउने भएका छन् ।
प्रसाईँ आउने थाहा पाएर युवासंघका कार्यकर्ताहरू मोरङको बेलबारीस्थित लोहन्द्रा पुल र बुढी खोलाको पुलमा भेला भएर अवरोध गर्ने तयारी गरेपछि प्रसाईँको कार्यक्रममा नआउने भएका हुन ।
पछिल्लो समय नेकपा एमाले र उसको भातृसंगठन युवासंघ नेपालप्रति आक्रामक तथा विवादित अभिव्यक्ति दिँदै आएका प्रसाईँ इटहरी १९ तरहरा स्थित ब्रह्मपुरमा सञ्चालन भइरहेको फुटबल प्रतियोगितामा प्रमुख अतिथीकोरुपमा सहभागी हुन आउने कार्यक्रम तय भएको थियो ।
एपिएफ सुनसरी र पञ्चायन फुटबल क्लब राम धुनीबिच हुने दोस्रो क्वाटर फाइनल खेलका लागि प्रमुख अतिथिका रूपमा आयोजकले प्रसाईँलाई बोलाएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको थियो ।
प्रसाईँ सहभागी कार्यक्रममा विरोध हुने भएपछि आयोजकले उनको ठाउँमा उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व अध्यक्ष भीम पौडेल र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीलाई प्रमुख अतिथिको रूपमा बोलाएको छ ।
व्यवसायी प्रसाईँ दुई वर्षअघि नेकपा एमालेमा प्रवेश गरेका थिए । यसअघि माओवादी निकट मानिने उनी केपी ओली सत्तामा पुगेपछि ओलीसँग नजिकिएका थिए । तर २०७९ फागुन १३ गते नेकपा एमालेले पार्टीका केन्द्रीय प्रसाईँलाई बर्खास्त गरेको थियो ।
सचिवालय बैठकले पार्टीको नीति र उद्देश्य विपरीत झापामा पूर्व राजा ज्ञानेन्द्र शाह सहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुआत घोषणा गरेपछि प्रसाईँलाई बर्खास्त गरेको थियो ।
त्यसयता उनी एमाले र युवा सङ्घप्रति आक्रामक अभिव्यक्ति दिँदै आएका छन् ।