सुनसरी । सुनसरीको दुहवी र खनारमामा हुन लागेको मुस्लिम समुदायको धार्मिक सभा इज्तेमालाई प्रशासनले स्विकृत नदिने भएको छ । गृह मन्त्रालयबाट प्राप्त आदेश बमोजिम सुनसरी प्रशासन उक्त धार्मिक सभालाई स्विकृति नदिने निर्णय गर्दै स्थगन गर्न आग्रह गरेको छ ।

कार्यक्रमको इजाजतका लागि कार्यालयमा प्राप्त निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्यक्रमका बारेमा गृह मन्त्रालयसंग राय मागेको थियो । 

गृह मन्त्रालयले हालको सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगन गर्नु, गराउनु भनी आदेश सहितको पत्राचार गरेकाले दुवै स्थानका धार्मिक सभा इज्तेमालाई स्विकृत नदिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

 प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहको आदेश बमोजिम जिल्लास्थित सुरक्षा समितिको बैठक बसी तत्काललाई उक्त कार्यक्रमका हकमा स्विकृति नदिने निर्णय गरेको जानकारी दिनुभयो । गृह मन्त्रालयको आदेश कार्यान्वय गर्नु र गराउनु प्रमुख दायित्व भएकाले सोही बमोजिमको निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

 जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्यक्रम स्थगन बारे इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकालाई लिखित जानकारी समेत गराइ सकिएकोे र आयोजक पक्षलाई समेत सो बारे जानकारी दिइएको जनाएको छ । 

सुनसरी प्रशासनले कार्यक्रम स्थगत गर्न आदेश भएकाले सोही बमोजिम गर्न आयोजक समक्ष आग्रह समेत गरेको इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले बताए । 

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गते सम्म इस्तिमा कार्यक्रम आयोजना गर्न लागिएको थियो । छोटो दुरीमै र समय समेत मिल्दोजुल्दो हुनेगरी दुहवी र खनारमा एकसाथ दुई फरक समूहले इज्तेमाको आयोजना गर्न लागेका थिए । प्रशासनको स्विकृती बेगर नै कार्यक्रमका लागि आयोजकले तिव्र तयारी थालेका थिए ।

 इटहरी १३ खनारको दाँजोमा दुहवी १ मा तयारी गरिएको इज्तेमा ठूलो हुने अपेक्षा गरिएको थियो । दुहवीमा आयोजना गर्न लागिएको इज्तेमाका लागि ठूलो क्षेत्रफलमा पंडाल निर्माण गरिएको छ । 

उक्त कार्यक्रममा सहभागिताका लागि भारत, पाकिस्तान र बंगलादेशका मुस्लिम अगुवा र प्रतिनिधि आउन थालिसकेका थिए ।  अन्य देशबाट समेत कार्यक्रममा सहभागिता जनाइने बुझिएको थियो । धार्मिक सभाको भारतबाट आएका मुस्लिम धर्मगुरुले प्रवचन दिन कार्यक्रम रहेको थियो ।