विराटनगर । हिन्दु धर्मावलम्बीहरूले सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्व उदाउँदो सूर्यलाई पूजा गरेसँगै समापन भएको छ। आरोग्यताका लागि आस्था राखेर मनाउने छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिएको हो । खोला, नदी, तलाउ र नहरका किनारमा सूर्य आराधना गर्दै व्रत बसेका व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व अन्त्य गरेका हुन् । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका भक्तालु रात भरी जाग्राम बसेर छठ मैयाँको भजन कीर्तन गरे ।
विराटनगरको सिंघीया खोलाको घिनाघाट र हाट खोलालगायतका स्थानमा बिहानैदेखि सूर्य नउदाउन्जेल पूजाआजा गरेका छन् । त्यसै गरी केसलिया नहर, मोरङ सुनसरी सिँचाइ आयोजनाको नहरलगायतका स्थानमा श्रद्धालुहरूले सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका हुन् ।
हिजो बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरेका उनीहरूले आज सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिए ।
कसार, ठेकुवा, केरा, उखु, मेवालगायतका फलफूल एवं भुसवा, माटोले बनाइएको हात्तीको प्रतिमा, सुप, कनसुपतीसहितको कलशलाई अर्घ्यसँगै सूर्यलाई चढाउने गरिन्छन् । त्यसरी चढाइने ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रतिको समर्पण मानिएको छ ।
सूर्यलाई चढाइसकेपछि घाटबाट घर फर्किएका व्रतालुहरूले फलफूल, ठेकुवालगायतका सामग्री प्रसादका रूपमा घरपरिवार र छरछिमेकलाई बाँड्ने गरेका छन् ।