विराटनगर । १४ महाधिवेशनपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबार विराटचोकमा सुरु हुँदैछ ।
नेपाली कांग्रेस मोरङले मंगलबार सम्मेलन आयोजनास्थल विराटचोकमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलनमा जिल्लाका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुने नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । सम्मेलनमा विधान संशोधन मुख्य एजेण्डाकाका रुपमा प्रस्तुत गरिने लिम्बूले बताए ।
त्यस्तै प्रशिक्षण, अन्तर जिल्ला भ्रमण, सांस्कृतिक अभियानलगायतका प्रस्तावमाथि बन्दसत्रमा छलफल हुने सभापति लिम्बूले बताए । सम्मेलन सफल बनाउन सभापति लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन गरिएको छ ।
त्यस्तै सम्मेलनलाई भव्य बनाउन मञ्च व्यवस्थापन, स्वयमसेवक परिचाजन, अतिथि सत्कार, प्रचारप्रसारलगायतका उपसमिति गठन गरिएको सचिव ललित श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्मेलनमा राजनैतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । मोरङ कांग्रेसमा ३० हजार ६२९ जना क्रियाशील सदस्य रहेका छन् । सम्मेलनले कांग्रेसलाई थप बलियो बनाउने उहाँले बताउनभयो । पत्रकार सम्मेलनमा उपसभापति भक्तिनाथ माझी, सचिवद्वय ललित श्रेष्ठ, मोदराज घिमिरे, कोषाध्यक्ष रञ्जु अधिकारी, सह सचिवद्वय भुवनेश्वर मण्डल, सञ्जय मण्डल लगायतको सहभागिता रहेको थियो ।