सुनसरी । सुनसरीको वराहक्षेत्रमा एकादशी मेलाको तयारी पुरा भएको छ। वराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको हो । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ ।
मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए । मेलाकालागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई दिएको छ । सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई दिएको छ ।
मेला भर्नका लागि आउने भक्तजनका लागि नदीमा सुरक्षित स्नानका लागि बाँसको बार, उज्यालोका लागि बिद्युतको व्यवस्थापन लगायतका कार्य पूरा गरेको उनले बताए । मेलाका लागि बगर सम्म्याउने, रङ लगाउने, मन्दिर श्रृङ्गार्ने र नियमित सरसफाइ गर्ने कार्य गरेको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । मेलालाई व्यवस्थित बनाउनकोलागि मन्दिर क्षेत्रलाई सिँगार्ने काम समेत भएको उनले बताए ।
तस्विर : राज तिमल्सिना