विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. २४ औँ वर्षमा प्रवेश गरेको छ । सहकारीको बुधवार सम्पन्न २३ औँ वार्षिक साधारण सभाले वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो । सहकारीकी अध्यक्ष तारादेवी राईको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष राईले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । प्रस्तुत प्रतिवेदनका अनुसार बचत ११ करोड ६२ लाख ३३ हजार ४८२ रुपैयाँ ५० पैसा रहेको छ भने शेयर पुँजी १ करोड ५४ लाख ६४ हजार ७ सय रुपैयाँ रहेको छ ।
सहकारीको कोष हिसाब १ करोड ९२ लाख ४ हजार ९७ रुपैयाँ ८६ पैसा रहेको छ भने सहकारीले १३ करोड ३७ लाख ४९ हजार ९९० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार सहकारीले नियमित मासिक बचत, समूह बचत, ऐच्छिक बचत, विशेष बचत, खुत्रुके बचत, ६ महिने बचत, आवधिक मुद्दती बचत, कर्मचारी हित कोष बचत, कर्जा सुरक्षण बचत र दैनिक खुत्रुके बचत सञ्चालन गरेको छ । त्यस्तै सहकारीले सामाजिक कर्जा, व्यापारिक कर्जा, पशुपालन कर्जा, शैक्षिक कर्जा, आवधिक बचत खाता जवानी कर्जा, मोबाइल कर्जा, कृषि कर्जा, औषधी उपचार कर्जा, युवा स्वरोजगार कर्जा, जेथा जमानीमामा शैक्षिक कर्जा, ब्यापार
कर्जा, वैदेशिक कर्जा पशुपालन कर्जा र घरजग्गा कर्जा सञ्चालन गरिरहेको प्रतिवेदनमा जनाईएको छ ।
२०५७ सालमा ४४ जना महिलाले सुरुवात गरेको सहकारीमा अहिले ९५७ जना शेयर सदस्य रहेका छन् ।
सहकारीले २ करोड १२ लाख ९६ हजार ३१२ रुपैयाँ आम्दानी गरेको छ भने खर्च १ करोड ६७ लाख ५६ हजार २ सय ६६ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले ८ जना सदस्यलाई निष्क्रिय रहेको जनाएको छ । कर्जा लिएर लगातार ३ महिनासम्म कर्जाको किस्ता र ब्याज नतिर्ने ऋणी सदस्यलाई निष्क्रिय सदस्यको सूचीमा राखेको सहकारीले जनाएको छ ।
कार्यक्रममा सहकारी अध्यक्ष राईले महिलाहरूको आर्थिक, सामाजिक , संस्कृति र राजनैतिक उत्थानका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सहकारीको ठुलो सहयोग गरेको उनले बताइन् ।
साधारण सभाको अवसरमा सहकारीले ज्येष्ठ सेयर सदस्यहरूलाई सम्मान गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरेको छ । ७५ वर्ष पुरा भएका २१ जना पुरुष ज्येष्ठ सदस्यहरू र ६५ वर्ष पुरा भएका १९ जना ज्येष्ठ महिला सदस्यहरूलाई सम्मान गरेको छ । यसै गरी ७ जना एकल महिला, २६ जना जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
त्यस्तै दुई जना विद्यार्थीलाई छात्र वृद्धि पनि प्रदान गरिएको छ । शेयर सदस्यका छोराछोरी मध्येबाट सुलोचना हिङ्गमाङ्ग र अर्यान भगतलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
सम्मानित भएका ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङ्गले छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष रमेश पोखरेलले सहकारी अभियान विश्वसँग जोडिएकाले सहकारी संस्था भित्र राजनीति नहुने बताए । सहकारी क्षेत्रमा विगत देखि उठिरहेको ग्रेडिङका कुरालाई समयले ग्रेडिङ गरिदिएको उनको भनाइ थियो ।
कार्यक्रममा कोशी प्रदेश सहकारी सङ्घका अध्यक्ष तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले राजसतिले महिलाको आर्थिक, राजनीतिक तथा सामाजिक नेतृत्व विकासमा टेवा पुर्याएको उल्लेख गरे ।
साधारण सभामा सहभागीहरूलाई सहकारीकी उपाध्यक्ष गीतादेवी विष्टले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सचिव तुलसी विष्टले गरेकी थिइन ।
साधारण सभामा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने शेयर सदस्य सङ्गीता पौडेल र तालिमको सदुपयोग गर्ने शेयर सदस्य उर्मिला कुमारी कार्की र सङ्गीता अर्याललाई पनि सम्मान गरिएको थियो ।
साधारण सभाको बन्द सत्रमा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी पास गरिएको छ ।