विराटनगर । सुनसरीको इनरुवाका एक परिवारका दिदी बहिनी साथीकोमा जान्छु भन्दै घरबाट निस्किए । नियमित विद्यालय जाँदै आएका उनीहरू पढाई भन्दा पनि कहिले भारत जाने र त्यहाँको साथीलाई भेट्ने भन्नेमा थिए ।
उराव परिवारका दिदी बहिनी मध्ये १९ वर्षीय दिदी कक्षा १० मा र बहिनी कक्षा ९ मा पढ्थिन् । एक दिन दुई दिदी बहिनीले एउटा सल्लाह गरेर घुम्न जाने निधो गरे । उनीहरूलाई जानु पर्ने थियो भारतको फारबिसगञ्ज । त्यहाँका एक जना केटा साथीले उनीहरूलाई बोलाई रहेको थियो । उनीहरू २ दिन विराटनगर साथीको घरमा जाने भन्दै घर परिवारलाई छलेर निस्किए । त्यसपछि उनीहरू विराटनगरमा आए र विराटनगर नाका हुँदै जोगवनी तिर हानिए ।
जोगवनी पुगेका उनीहरूलाई एउटा रिक्साले माइती नेपालको सोधपुछ गर्ने ठाउँमा छाडेर त्यो रिक्सा फर्कियो । त्यहाँ सोधखोज गर्दा थाहा भयो दुवै दिदी बहिनीसँग भारतको फारबिसगंज घर बताउने युवाले उनीहरूलाई सामाजिक सञ्जाल मार्फत फकाएर भारत बोलाएको पत्ता लग्यो । उनीहरूसँग निक्कै समय पछि मात्र थाहा भयो उनीहरूको घर सुनसरीको इनरुवा रहेको छ भन्ने ।
यी दिदी बहिनी त उदाहरण मात्र हुन् । उनीहरू जस्ता यसरी सामाजिक सञ्जाल मार्फत माया प्रेममा परेर जाने भारत तर्फ जाने क्रम बढेको माइती नेपालले जनाएको छ। पछिल्लो समय पढेलेखेका किशोरीहरू पनि सामाजिक सञ्जाल मार्फत र पैसाको लागि जोखिममा पर्ने गरेको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । सामाजिक सञ्जाल मार्फत भेटघाट गर्ने चिनाजान गर्ने र प्रेमको बहानामा भारतीय बजारसम्म किशोरीहरू पुग्ने गरेको घटनाहरू आउन थालेको उनको भनाई छ । सीमा क्षेत्रमा बसेर निगरानी गर्ने क्रममा कतिपय किशोरीहरूले आफ्नो पहिचान समेत लुकाउने सबै कुरा स्पष्ट नभन्दा पनि समस्या हुने गरेको उनले बताए । प्रहरीसम्म यस्ता उजुरी भने पुग्ने गरेका छैनन् । सामाजिक सञ्जालको प्रयोगले धेरै किशोरीहरू गलत तरिकाले भारतसम्म पुग्ने र त्यहाँ बेचबिखनको जोखिममा पर्ने गरेको देखिँदै गएको माइती नेपाल विराटनगरकी गीताञ्जली शर्माले बताइन् ।