विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने बताएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक शनिवार प्रदेशसभामा पेस गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिलामन्त्री केदार कार्कीले जङ्गलमा फलफूलको बिरुवा रोप्ने योजना पनि सार्वजनिक गरे । ३६ अर्ब ७४ करोड ३५ लाखको बजेटमा १० वर्षसम्मका बालबालिकाको जुनसुकै अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने सहितका स्वयमसेविकालाई प्रोत्साहन भत्ता समेत बजेटमा रहेको उल्लेख गरे । चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरेका छन् । सङ्घीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ । कोशी प्रदेशमा २५ लाख भन्दा कमका योजना नपारिएको बताउँदै कार्कीले अब टुक्रे योजनाका दिन गएको उल्लेख गरे । धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, सौर्य ऊर्जा प्रणाली मार्फत चल्ने स्वचालित तुइन सञ्चालन गर्ने, हात्तीमैत्री जङ्गल बनाउने, इटहरीमा जलन अस्पताल निर्माण गर्ने, तमोरको पानी धरान झार्ने योजना चालु आर्थिक वर्षदेखि सुरु हुने बजेटमा रहेको कार्कीले बताए ।
प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको श्रोतको रूपमा उल्लेख गरिएको छ ।