विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने बताएका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए । पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए । हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौ ।
उनले भने, ‘हामी चाँडै सरकार विस्तारमा लाग्ने छौ । ’उनले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या घटाएको विषयमा भने केही पनि प्रतिक्रिया दिएनन् । उनले भने मन्त्रालयको सङ्ख्या बढाउने विषयमा भने हामीले केही पनि सोचेका छैनौ । उनले मन्त्रालयको सङ्ख्या बढ्न नबढ्ने विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
हिक्मत कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा रहेका १३ वटा मन्त्रालयको सङ्ख्या घटाएर नौ बनाएको छ ।कोशी प्रदेशमा अहिले काङ्ग्रेस सहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । काङ्ग्रेसबाट मुख्यमन्त्री सहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त भएका छन् ।
तिहार छठ पछाडि मन्त्री परिषद् विस्तार हुने र जिम्वोरी पनि बाँडफाँड हुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले आन्तरिक विवादका कारण मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्री हुन चाहनेको सङ्ख्या धेरै हुँदा उनलाई मन्त्री परिषद् विस्तारमा सकस हुँदै आएको छ ।
केन्द्रिय सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरूले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि काङ्ग्रेसबाट विद्रोह गरेर कार्की एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए । शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशको मन्त्री परिषदमा माओवादी र समाजवादीबाट समेत मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको छ । उनले एमालेलाई पनि सरकारमा ल्याउने कसरत गरिरहेका छन् ।