विराटनगर । नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् । एमाले योगेश भट्टराईले गृह जिल्ला ताप्लेजुङ आएको अवसरमा एमालेले चियापान कार्यक्रम आयोजना गरेको थियो । सचिव भट्टराई उपस्थित भएको भन्दै पहिचानवादीहरूले कार्यक्रम अवरोध गर्न पुगेका थिए । कार्यक्रम स्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबिच ताप्लेजुङमा झडप समेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
पहिचानवादीहरूले घर अगाडि प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबिच झडप भएपछि प्रहरीले छुट्टाएको छ ।
अहिले अवस्था सामान्य भएको र चियापान कार्यक्रम सुचारु भएको एमाले पोलिटब्युरो सदस्य तथा कोसी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्वोले बताए ।
उनले सामान्य रूपमा नारा जुलुस भएको र अहिले अवस्था सामान्य भएको बताए । सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए । पहिचानवादीहरूले कोसी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन् । उनीहरूले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।
फोटो : साभार कान्तिपुर