विराटनगर  । विराटनगरबाट बैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसँग मात्र सिप भएको एक तथ्याङ्कमा देखिएको छ। विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरूसँग भएको छलफलको क्रममा सीपयुक्त श्रम शक्ति वैदेशिक रोजगारीमा जाने दर अत्यन्त न्यून रहेको पाइएको हो । 

सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित आर्थिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा कार्यपत्र प्रस्तुत  गर्दै विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसँग मात्र सीप हुने गरेको बताए । उनले नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २२ दशमलव ७ प्रतिशत रहेको जानकारी दिए ।  गत आर्थिक वर्ष नेपालबाट हालसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको उनले बताए । 

आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख ३० हजार ८७८ जनाले श्रम स्वीकृति लिएका थिए । चौधरीका अनुसार कोशी प्रदेशबाट १ लाख ६८ हजार ३०८ जना वैदेशिक रोजगारमा जाँदा मोरङबाट २९ हजार ६५८ जना गएका छन् । त्यसमध्ये १३ प्रतिशत महिला वैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएको उनको भनाई छ ।

चौधरीले विराटनगर महानगरपालिकाको १,४, ५, ६, ९, १४, १६, १७ र १८ नम्बर वडाबाट ४ हजार ६३३ जना वैदेशिक रोजगारमा गएको तथ्याङ्क प्रस्तुत गरे ।  ‘जसमध्ये ८९ प्रतिशत अदक्ष युवा वैदेशिक रोजगारीमा गएका छन्, उनले भने,  विराटनगर महानगरपालिकाभित्रबाट गएका युवामध्ये ११ प्रतिशतले मात्रै सीप सिकेर गएको पाएका छौँ ।’  अन्तरक्रियामा मेयर नागेश कोइरालाले वैदेशिक जाने हरेक युवालाई अनिवार्य रूपमा सीप सिकेर मात्रै जान आग्रह गरे ।  सीप सिकेर जाँदा दुःख कम हुने र पैसा पनि बढी कमाइ हुने उनको भनाइ छ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, सामी परियोजनाका प्रमुख दीपक राउतलगायत सहभागी थिए ।