विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीय तहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले एक अर्को सरकार बिचको समन्वय हुनु पर्ने बताए । 
संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्छ उनले भने,   ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्ने हो भन्ने कोराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले सङ्घ सरकारले समन्वय मात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनि गर्दछ ।’
मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताए ।  ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिका सरी बजेट छर्ने परिपाटी अन्त्य गर्दै छौँ, प्रदेशले कतिसम्मका कार्यक्रम गर्ने, सङ्घले कति र स्थानीय तहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ, मुख्यमन्त्री कार्कीले भने,  सङ्घ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले तीनै तहको सरकार बिच समन्वय भए मात्र विकासले गति लिन सक्ने बताइन् । ‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ, उनले भनिन्,  विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिर्जना हुनु योजना तथा तयारीको अभावले हुने गरेको छ ।’

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय सङ्घीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरूको प्रयोग हुन नसकेको बताए । विराटनगर महानगरका मेयर नागेश कोइराला,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सङ्घीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित असल अभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ ।