विराटनगर । केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ  ।
एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेका हुन् । उनीहरूले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।
बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि समय दिएको थियो । 
आजको बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी गरेको बेला एमलेका ६ र राप्रपाका २ प्रदेश सभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् । 
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेश सभा सदस्यहरू  विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । 
यस्तै राप्रपाका भक्ति प्रसाद सिटौला र गोपाल विश्वकर्माले पनि प्रस्ताव दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।  
मुख्यमन्त्री केदार कार्कीले अर्थमन्त्रीको हैसियतले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका छन्  । 
बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर साङ्केतिक विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । प्रस्ताव  पारित भए सरकारको बजेट र कार्यक्रम फेल भएको मान्ने चलन छ ।