विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री  केदार कार्कीले नेकपा एमालेलाई ठुलो घरको ठुलै चाला भएको कारण नेकपा एमालेको तर्फबाट खर्च कटौती प्रस्ताव आएको बताए ।  कोशी प्रदेश सभामा सांसदहरूले खर्च कटौती सम्बन्धी प्रस्तावको जवाफ दिँदै उनले खर्च कटौती प्रस्ताव औपचारिकताको लागि मात्र आएको बताए । आफू पनि प्रतिपक्षमा बस्दा खर्च कटौतीको प्रस्ताव राखेको र अहिले पनि औपचारिकताकोलागि मात्र आएको बताए । सर्वहाराको पार्टीले आफूलाई मुख्यमन्त्री बनाएकोले  बताउँदै सुकुम्वासीको विषयमा आएको खर्च कटौतीको प्रस्ताव त्रुटिवश आएको हुनसक्ने बताए ।  कोशी प्रदेश सभाका ९ जना प्रदेश सभा सदस्यले खर्च कटौतीको प्रस्ताव प्रदेश सभामा दर्ता गरेका थिए । दर्ता गराएको प्रदेशमा भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला, सामाजिक विकास लगायतको खर्च कटौतीको प्रस्ताव सांसदहरूले राखेका थिए ।  

कहीँ न्यायको नाममा बढी बजेट भएको हुनसक्ने, कहीँ अन्याय नै भएको पनि हुनसक्ने भए त्यस्तो अवस्थामा  त्यस्ता गल्ती कमी कमजोरी आफूले सुधार गरेर जाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए । उनले कुनै कमी कमजोरी आफूबाट भएको भए सच्याएर जान तयार रहेको उल्लेख गरे ।  प्रदेश सभा सदस्यहरू रेवती रमण भण्डारी, विदुर लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, निरन राई, भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री कार्कीले खर्च कटौतीको प्रस्तावमा फिर्ता लिन आग्रह गरेपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।