विराटनगर । कोशी प्रदेशसभाबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक  सर्वसम्मतिले पारित भएको छ । 
कोशी प्रदेशका मुख्यमन्त्री  केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका ८ जना प्रदेश सभा सदस्यले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट पास भएको छ । 
 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट प्रतिस्थापन बिधेकयममा मनलागी योजनाहरू काटेको र मनलागि थपेको भन्दै हिजोको सदनमा काङ्ग्रेसकै प्रदेश सभा सदस्यहरूले विरोध गरेका थिए । मनलागि योजना काटेको भन्दै विधेयकको विरोधमा एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले हिजो उठेर विरोध गरेका थिए । 
विधेयकको विषयमा सदनमा छलफल चलिरहँदा आज ८ जना प्रदेश सभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावका विषयमा मुख्यमन्त्री कार्कीले जवाफ दिँदै नेकपा एमाले सदनको ठुलो घर भएको र उसको ठुलै चाला भएको भन्दै  एमालेको तर्फबाट खर्च कटौती प्रस्ताव आएको बताए ।  कोशी प्रदेश सभामा सांसदहरूले खर्च कटौती सम्बन्धी प्रस्तावको जवाफ दिँदै उनले खर्च कटौती प्रस्ताव औपचारिकताको लागि मात्र आएको बताए । आफू पनि प्रतिपक्षमा बस्दा खर्च कटौतीको प्रस्ताव राखेको र अहिले पनि औपचारिकता कोलागि मात्र आएको बताए । सर्वहाराको पार्टीले आफूलाई मुख्यमन्त्री बनाएकोले  बताउँदै सुकुम्वासीको विषयमा आएको खर्च कटौतीको प्रस्ताव त्रुटिवश आएको हुनसक्ने बताए ।  कोशी प्रदेश सभाका ८ जना प्रदेश सभा सदस्यले खर्च कटौतीको प्रस्ताव प्रदेश सभामा दर्ता गरेका थिए । दर्ता गराएको प्रदेशमा भौतिक पूर्वाधार, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला, सामाजिक विकास लगायतको खर्च कटौतीको प्रस्ताव सांसदहरूले राखेका थिए ।  
कहीँ न्यायको नाममा बढी बजेट भएको हुनसक्ने, कहीँ अन्याय नै भएको पनि हुनसक्ने भए त्यस्तो अवस्थामा  त्यस्ता गल्ती कमी कमजोरी आफूले सुधार गरेर जाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए । उनले कुनै कमी कमजोरी आफूबाट भएको भए सच्याएर जान तयार रहेको उल्लेख गरे ।  प्रदेश सभा सदस्यहरू रेवती रमण भण्डारी, विदुर लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, निरन राई, भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री कार्कीले खर्च कटौतीको प्रस्तावमा फिर्ता लिन आग्रह गरेपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए । मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।