विराटनगर । इटहरीमा जङ्गली हात्तीले कुल्चेर एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकका रविन खड्काको मृत्यु भएको हो ।
उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जङ्गली हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठुलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको सङ्ख्यामा हात्ती आउने गरेको छ ।
‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ, सुरक्षाकर्मी र प्रशासनको साथ आवश्यक छ,’ उनले भने, ‘विज्ञको सल्लाहअनुसार हात्ती खेदाउन प्रशासनले सहज बनाइदिनु पर्यो । यो जाडो मौसममा त रात भरी बस्दा दाउराको जोहो गर्न पनि समस्या छ ।’
आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए । पछिल्लो समय जङ्गली हात्तीको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ।