विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन १४ जनालाई पक्राउ गरेको छ। फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले चोरी, वन पैदावार तथा ओसार पसार, केही सार्वजनिक अपराध, चलन हटक र लुटपाट कसुरमा दोषी ठहर भएका व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय बेलबारी, रानी र प्रहरी चौकी कटहरिबाट खटिएको प्रहरी टोलीले १४ जनालाई पक्राउ गरेर अदालतमा पेस गरेको हो । सम्मानित अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी दण्डहीनता अन्त्य गर्ने अभियान अन्तर्गत आर्थिक वर्ष २०८०/०८१को २०८० मङ्सिर ११ गते सम्म फरार रहेका १८३ जना प्रतिवादीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलले बताए । पक्राउ परेका थप १४ जना समेत गरी जम्मा १९७ जना फरार प्रतिवदीहरूलाई मोरङ जिल्ला अदालतमा बुझाई ५२ वर्ष ८ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३६४ रुपैयाँ जरिवाना असुल गरिएको उनले जानकारी दिए ।