विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विरुद्ध किसानले नाराबाजी गरेका छन् । ‘दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानका विकल्प’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा किसानहरूले मुख्यमन्त्री कार्कीको विरोध गरेका हुन् । कार्यक्रम उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कार्कीले कार्यक्रमलाई सम्बोधन नै नगरी फर्किए । कृषि मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा मुख्यमन्त्री निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो पुगेकोको भन्दै किसानले विरोध गरेका थिए । कार्यक्रमको उद्घाटनपछि एउटा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस लगतै आयोजकले मुख्यमन्त्रीको कार्य व्यस्तता रहेको दर्साउँदै मन्तव्यका लागि बोलाएका थिए । एक त कार्यक्रममा नै ढिला पुगेका मुख्यमन्त्री आफ्नो कुरा किसानलाई सुनाएर मात्र हिँड्न खोजेपछि किसानको कुरा सुन्नु पर्ने भन्दै किसानले आवाज उठाएका थिए ।
दुग्ध किसान, डेरी सञ्चालक तथा उद्योग सञ्चालक सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीले आक्रामक शैलीले प्रस्तुत र नाराबाजी गरेपछि मुख्यमन्त्री सम्बोधन नगरी कार्यक्रम स्थलबाट बाहिरिएका थिए । कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा एसोसिएसनले कार्यक्रमको आयोजना गरेको हो । नेपाल पराभेटेनरी एन्ड लाइभष्टक एसोसिएसन कोशी प्रदेशको ३४ औं स्थापना दिवसको अवसरमा बिहीवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।