विराटनगर । नेकपा एमालेले मङ्सिर १४ बाट ‘झुला घाट चिवा भञ्ज्याङ्गा समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ ।
बैतडीको झुला घाटमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डा फहराएर सुरु भएको सङ्कल्प यात्रा मङ्सिर २६ कोशी प्रदेशको उदयपुर स्थित घुर्मीमा आइपुग्ने छ ।
जहाँ एमालेले कोशी प्रदेशमा ठुलो सभा गर्ने तयारी गरेको छ । यसका लागि एमाले कोशी प्रदेशले आन्तरिक तयारी तीव्र बनाइरहेको र जिल्ला जिल्लाबाट आफ्ना नेता तथा कार्यकर्ता ल्याउने तयारी गरेको छ ।
घुर्मीबाट कोशी प्रदेशमा सुरु हुने एमालेको सङ्कल्प यात्रालाई रोक्न पहिचानवादीहरूले ‘घुर्मी –चिवा भञ्ज्याङ्ग जनजागरण अभियान’ सुरु गरेका छन् ।
एमालेले झुला घाटमा सङ्कल्प यात्रा सुरु गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी–चिवा भन्ज्याङ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो ।
सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट पहिचानवदीहरु भेला भएका थिए । अभियानको उद्घाटन गर्दै घुर्मी, ओखलढुङ्गा सोलु सडकलाई उनीहरूले बलबहादुर राई मार्गको नामकरण समेत गरेका छन् ।
पहिचानवादीहरूले मङ्सिर १४ गते नै एमालेको सङ्कल्प यात्रालाई रोक्न प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिले मध्यपहाडि मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हान गरेका छन् ।
एमालेको यात्रालाई अवरोध गर्ने मुख्य उद्देश्य राखेर जनजागरण अभियान सुरु भएपछि कोशी प्रदेशमा झडप र हिंसा हुने अनुमान गर्न थालिएको छ ।
एमालेले जसरी पनि सङ्कल्प यात्रा पाँचथरको चिवा भञ्ज्याङ्ग सम्म पुर्याउने र पहिचानवादीले जसरी पनि यात्रा रोक्ने उद्देश्य राखेपछि समस्या देखिएको भन्दै सुरक्षा प्रशासनले उच्च सतर्कता अपनाउन थालेको छ ।
यसका लागि प्रदेश स्थित सुरक्षा निकायको पटक पटक बैठक बसेको छ । दुवै पक्षसँग कार्यक्रम नजुध्ने गरिको कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ ।
पहिचान सहितको प्रदेश नम्बर १ पुन नामाङ्कन अभियान समितिका अध्यक्ष डाकेन्द्र सिङ्ग थेगिमले एमालेले सुरु गरेको अभियानलाई अवरोध गर्नकै लागि आफूहरूले जनजागरण अभियान सुरु गरेको बताए ।
उनले भने ‘ हामीले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरु गरेका हो । एमाले अध्यक्ष केपी शर्मा ओली,सचिव योगेश भट्टराई एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सभा सदस्यलाई अवरोध गरिएको हो । उनीहरू यात्रा सहभागी भए हामी अवरोध गर्छौ । ठोकुवा साथ भन्छु अवरोध हुन्छ ’
एमालेले मध्यपहाडि लोक मार्ग भएर झुला घाट–चिवा भञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्ने मिति निर्धारण गरेसँगै प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समिति प्रेस विज्ञप्ति निकाल्दै अवरोध गर्ने जनाएको थियो ।
विज्ञप्तिमा एमाले अध्यक्ष केपी ओली, सचिव योगेश भट्टराई, नेता महेश बस्नेत र प्रदेश सभा सदस्यहरुलाइ यात्रामा सहभागी नहुन चेतावनी दिइएकोे थियो ।
नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले कसैले धम्की दिँदैमा अभियान नरोकिने बताए ।
उनले भने‘ हामीले यो देशको समृद्धिको लागि अवसर र सम्भावनाका लागि भनेर यात्रा गरेका छौ । कसैले भन्दैमा रोक्ने, पार्टीका नेताहरूलाई सहभागी नगराउने भन्ने हुँदैन ।’
उनले शान्ति सुरक्षाको जिम्मा प्रशासन र सरकारको भएको बताए । लोकतन्त्रमा कुनै पनि राजनीतिक पार्टीले राजनीतिक कार्यक्रम गर्न पाइँदैन भन्ने हुन्छ रु यसको जिम्मा प्रशासनको हो सरकारको हो । हामी यात्रामा अगाडि बढ्छौ ।
अप्रेसनमा पुग्न पर्दैन डिआइजी बास्तोला
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले समन्वय र सहकार्यमा समस्या समाधान हुने बताए ।
एमालेको अभियान लक्षित गरेर अवरोधको कार्यक्रम सार्वजनिक भएको छ । तर हामी शान्तिपूर्ण ढङ्गले नै यो समस्या समाधान गर्न सक्छौ भन्नेमा विश्वस्त छौ डी आइजी बाँसतोलाले भने,‘लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाउनु पर्छ । यही भएर कार्यक्रम नजुधुन भनेर प्रहरी प्रशासन ‘कोअर्डीनेशन र को अप्रेसनमा’ छ । ’
कोअर्डीनेशन र कोअप्रेशन पछि जाने भनेको अप्रेसनमा हो । बास्तोलाले भने प्रहरीले अप्रेसनमा गएर पनि हिंसा र मुठभेड रोक्छ । यो प्रहरीको काम हो । प्रहरीले शान्ति सुरक्षा कायम राख्न सबै खाले काम गर्छ । अहिलेको अवस्थामा प्रहरी अप्रेसन सम्म पुग्नु पर्ने अवस्था छैन ।