इटहरी । कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष अधिवेशनको माग गरेको छ ।
इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । आज एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् ।
नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको छ । एमाले संसदीय दलका सबै सदस्यहरूको हस्ताक्षर सहितको निवेदन बुझाइएको छ ।
मङ्सिर २४गते संसदीय दलको बैठक बसेर विशेष अधिवेशन बोलाउने निर्णय गरिएको संसदीय दलका सचिव उमेश सुवेदीले जानकारी दिए । कर घटाउने विषयमा नै बढी समस्या भएका कारण विशेष अधिवेशन माग गर्नुपरेको उनले बताए ।
इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट, नीति तथा कार्यक्रम मार्फत कर बढाएर घोषणा गरेको थियो ।वृद्धि भएको कर समायोजन गर्न तीव्र दबाब आए पनि उपमहानगरपालिकाले कर समायोजन गरेको छैन । कर समायोजन गर्ने विषयमा एमाले पक्षीय जनप्रतिनिधि र मेयर बिच मतभेद हुँदै आएको छ ।
कर वृद्धिकै विषयमा अध्ययन गर्न वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा समिति पनि बनेको थियो । सो समितिले ढिला गरी बुझाएको प्रतिवेदन कार्यपालिकामा छलफलको कार्यसूचीमा पेस भए पनि छलफल भएन ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल करका विषयमा सुरुवात समय देखि नै कर नघटाउने पक्षमा अडान सहित बसेका छन् ।
यस अघि पनि उपमेयर सङ्गीता कुमारी चौधरीले पत्रकार सम्मेलन गर्दै आफ्नै अध्यक्षतामा बैठक बस्ने चेतावनी दिएकी थिइन । तर त्यस अनुसार उनले केही गर्न सकेकी थिइनन् ।
कर वृद्धिको विषयमा यस अघि नागरिक समाज इटहरीले पनि कर घटाउन तथा समायोजन गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरेको थियो ।