विराटनगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले एक सय जना समाजसेवीहरूलाई सम्मान गर्ने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले पत्रकार सम्मेलन गरी शनिवार सम्मान कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिइएको हो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर प्रमुख सञ्चालिका गीता दिदीले विराटनगर–९ स्थित सिटी पार्टी प्यालेसमा सेवा केन्द्रले सम्मानका कार्यक्रम राखेको जानकारी दिइन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको अन्तर्राष्ट्रिय मुख्यालय प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, माउन्ट आबू, राजस्थान (भारत) देखि समाज सेवा विभागको आगमन “आऔँ हामी मिलेर बनाऔँ एक स्वर्णिम समाज” शीर्षकको अभियान लिएर विराटनगरमा सम्मान कार्यक्रम हुन गइरहेको उनको भनाई छ।
अभियान सञ्चालन गर्ने क्रममा सामाजिक, धार्मिक, स्वास्थ्य, शिक्षा, साहित्य, महिला सशक्तीकरण, खेलकुद, प्रकृति कल्याण, जनावर संरक्षण आदि क्षेत्रमा निः स्वार्थ परोपकारी सेवा पुर्याउने समाजसेवीहरूलाई सम्मान गरिने जानकारी दिइएको छ।
सम्मान कार्यक्रमका लागि भारतको मुम्बईबाट विराटनगर आएका प्रसिद्ध उत्प्रेरक एवं प्राध्यापक ई.बी. गिरिसले समाजसेवीहरूलाई हर्ष, उल्लास र मनोरञ्जनका साथ उत्प्रेरणा गराउनकोलागि सम्मान गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए । समाज सेवा विभागले झापाको धुलाबारी, बिर्तामोड, दमक, धनकुटा, फारबिसगंज र जोग बनी (भारत) मा कार्यक्रम गरिसकेको जनाइएको छ । सम्मान कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ प्रमुख अतिथिको रूपमा रहने जानकारी दिइएको छ।