इटहरी ।राजस्व विभागको अन्तःशुल्क स्टिकर दुरुपयोग गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाईं पक्राउ गरेको छ ।
मोरङको कर्सिया बजारमा किराना पसल सञ्चालन गर्दै आएका ४८ बर्षका सुनिल कुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार भोला गुट्खा लगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचना आएपछि राजवंशीको पसलमा प्रहरीले छापा हानेको थियो ।
सो क्रममा तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परे पछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले राजवंशीको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ ।राजस्व छली गर्नलाई भोला गुट्खाको ‘प्याकेट’मा प्रयोग भइसकेको स्टिकर निकालेर पुनः प्रयोगका लागि उनले पठाउने गरेको प्रहरीको दाबी छ ।
राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने डिएसपी दाहालले बताए ।।