विराटनगर । कोशी प्रदेश सरकारका मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  मन्त्री हुँदादेखि नै मन्त्रालय नपाएका विना विभागीय मन्त्रीहरूले मन्त्रालय पाएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् । विभाजन गरिएको मन्त्रीको कार्य विभाजनमा भौतिक पूर्वाधार मन्त्रालयमा कमल प्रसाद जबेगु, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालय गणेश उप्रेतीलाई तोकिएको छ। राई नेपाली काँग्रेस शेखर कोइराला समूहका प्रदेश सांसद हुन् भने उप्रेती नेकपा माओवादीबाट मन्त्री भएका हुन् । त्यस्तै जबेगु  नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।  जबेगु र  उप्रेती कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका हुन् ।  नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले नेकपा एमालेलाई पाखा लगाएर गठबन्धन दुई दल नेकपा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले शम्सेर राई र नेकपा एमालेका राम रानालाई मन्त्री बनाएका थिए । एमालेसँग छलफल नै नगरि गठबन्धनबाट  मन्त्री बनाएरको भन्दै एमालेले सरकार छाडेको थियो ।  लामो समयसम्म मन्त्रालय बाँडफाँड गर्न नसकेका मुख्यमन्त्री कार्कीले  झन्डै २ महिना पछि मन्त्रीको कार्यबिभाजन गरेका हुन् । ३ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएको भए पनि अन्य मन्त्रालय मुख्यमन्त्री आफ्नै मातहतमा राखेका छन् । karya bibhajan