विराटनगर । धनकुटाको सिद्धेश्वरी आधारभूत विद्यालयमा ९२ जना विद्यार्थी भर्ना भएकोमा २ जना अर्कै विद्यालयमा गए । साँगुरीगढी गाउँपालिका वडा नम्बर ३ का पर्वत याख्खा र सुमेष कार्की कक्षा ८ मा पढ्छन् । अब कक्षा ८ पास गरेपछि कहाँ पढ्ने भन्ने उनीहरु चिन्तामा छन् । माथिल्लो कक्षा ९ पढ्नका लागि यहाँ सम्भव नै छैन । साँगुरीगढी गाउँपालिका वडा नम्बर ३ मा एउटा मात्र जलकन्या माध्यमिक विद्यालय बेशीटार जान ३ घण्टा बढी लाग्छ । यो विद्यालय बाहेक नजिकै कुनै पनि मावि नभएको कार्कीले सुनाए । यहाँ कक्षा ८ सम्म पढेपछि धनकुटा बजार गएर कोठा भाडा लिएर बसेर पढ्नु पर्छ ।

सिद्धेश्वरी आधारभूत विद्यालय कुसेटारबाट कक्षा ८ पास गरेका विद्यार्थीले आफ्नै पालिकाको त कुरै नगरौँ वडामै रहेको माविमा समेत पढेर घर फर्किन सक्ने अवस्था छैन । यस विद्यालय छाड्ने विद्यार्थीहरू धनकुटा नगरपालिकामा रहेको गोकुण्डे, तल्लो गोकुण्डे अनी त्रिवेणी माविमा पढ्न जाने गरेको साँगुरीगढी गाउँपालिकाका वडा सदस्य तथा कुसेटारका स्थानीय नरोत्तम लिम्बूले बताए । “ती विद्यालयमा पुग्नका लागि पनि कुसेटारबाट ३ घण्टा नै लाग्छ तर अहिले गाडी पाउँछ सजिलो भएको छ”, वडा सदस्य लिम्बूले भने, “विद्यार्थीहरू मुलघाट पुगेर जान्छन्, त्यहाँ पुगेर पढ्नेहरू पनि सबै डेरा लिएर नै बस्छन् ।” 

student

विद्यार्थीहरू आधारभूत तहको पढाई पूरा गर्न नपाउँदै कोठा भाडा तिरेर बस्नुपर्ने बाध्यता छ । विद्यालयमा वार्षिक १० देखि १५ जना विद्यार्थी कक्षा ८ बाट नै अन्य विद्यालयमा जाने गरेका छन् । 

चालु शैक्षिक वर्षमा कक्षा ८ मा पढेका १० जनामध्ये २ जना राजारानीको विद्यालयमा गए, एकजना छथर जोरपाटी गए भने सञ्जिता माझी बुढीमोरङ गइन् । बाँकी ६ जना विद्यार्थीहरू निसा माझी, पुनम लिम्बु, विमला कार्की, रोहन गुरुङ, सुमन खड्का र मिलन माझीले परीक्षा दिए । मिलनले भने पढाई नै छाडेर अहिले घरमै छन् । गत वर्ष १२ जनाले आठ कक्षाको परीक्षा दिएकामध्ये १० जना उत्तीर्ण भए । माविको माग

कौशिका आधारभुत विद्यालय मुलघाटमा छ । मुलघाटबाट तमोर करिडोरको ठुला ३ वटा खोला तरेपछि मात्र कुसेटारमा रहेको सिद्धेश्वरी आधारभुत विद्यालयमा पुग्न सकिन्छ । भर्खर बन्दै गरेको यो सडकमा साना गाडी चलेको भए पनि सहज यात्रा छैन । गाउँमा युवा छैनन्, भएका युवाहरू पनि अफ्ना बाबुनानीलाई लिएर सहर पसिसकेका छन् । विद्यालयमा विद्यार्थी कम हुनुको कारण पनि यही नै भएको प्रअ रोहितकुमार पोखरेल बताउँछन् ।

पोखरेलका अनुसार, सबै युवा बैदेशिक रोजगारीमा जाने, उत्तै बस्ने, गाउँघरमा बुढा बुढी मात्र हुने हुँदा समस्या छ । त्यसैले पनि यस विद्यालयलाई कक्षा १० सम्म पुर्याउन सकस भएको छ । यस क्षेत्रलाई गढतिर भेग भनिन्छ, २०७० सालसम्म यस भेगमा कुनैपनि निमाबि थिएनन् । कक्षा ५ पास गरेपछि बालबालिका घरमा नै बस्ने गर्थे । अहिले कक्षा ८सम्म पुरा गरेपछि टाढै भएपनि पढ्नु पर्छ भन्ने देखिएको छ । स्थानीयले पटक पटक प्रयास गर्दा पनि कक्षा १० सम्मको स्वीकृति नै नपाएको विद्यालयको गुनासो छ । यहाँबाट धनकुटा जानको लागि पनि विद्यार्थीले साना गाडीमा रु.२०० र बसमा रु.१५० भाडा तिरेर जानुपर्ने बाध्यता रहेको प्रअ पोखरेलको भनाइ छ । 

गाडी किन्न अनुदान

साँगुरीगढी गाउँपालिका भित्र १० वटा मावि भए पनि सबै गाउँका बालबालिकाको पहुँच पुग्न सकेको छैन । कुसेटारका विद्यार्थीको समस्याको बारेमा धेरै पटक छलफल गरिएको भएपनि तत्कालको बिकल्प केही नभएको गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । ‘त्यहाँका विद्यार्थी माथिल्लो कक्षा पढ्नका लागि बेशीटार जानु पर्छ, उनले भने, त्यसको बिकल्प भनको कि बुढीमोरङ हो, कोही डाँडा बजार जानु पर्छ ।’ यस्ता ठाउँका विद्यार्थीको समस्यालाई समाधान गर्नकालागि मा.वि.हरूलाई बस किन्न ५ लाख अनुदान दिन थालिएको अध्यक्ष राईले बताए । ‘हरेक टोल र वडामा बाटो पुगेको छ, उनले भने, माध्यमिक तहसम्म पढाउने विद्यालयलाई गाडी किन्न पालिकाले ५ लाख अनुदान दिनेगरि काम अघि बढाएका छौँ विद्यालयहरूले बस किन्न इच्छा देखाएको अबस्थामा पालिकाले सहयोग गर्नसक्छ ।’ 

sagurigadi

पालिकाले रु.५ लाख दिएपछि साँगुरीगढी वडा नम्बर ६ को ग्रामिण जनता माविले अहिले बस मार्फत विद्यार्थी ल्याउन शुरु गरेको छ । पालिकाले रु.५ लाख दिए पनि अरू थप रकम विद्यालय आफैँले जुटाउन सक्ने अवस्था सबै विद्यालयको छैन । विद्यार्थीको सहजताको लागि थोरै सहयोगबाट पनि धेरै गर्न सकिने उद्देश्यले बस खरिदको लागि अनुदान दिन थालेको पालिकाले भोकै विद्यालय पुग्ने बालबालिकाको लागि भनेर खाजामा रु.१० थप गरेर रु.२५ बनाएको छ । “१० बजे विद्यालय पुग्नको लागि बिहान ७ बजे नै हिंड्नुपर्ने ठाउँहरू पनि छन्”, अध्यक्ष राईले भने, “विहानै हिंडेका विद्यार्थी विद्यालय पुग्दा भोकाइसकेका हुन्छन्, त्यसलाई ध्यानमा राखेर संघीय सरकारले दिएको खाजा कार्यक्रमको रु.१५ मा पालिकाले थप रु.१० बढाएर रु.२५ दिईंदा विद्यार्थी भोकै पढ्नु परेको छैन ।”