विराटनगर । धनकुटाको पख्रिबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुराँगाइको घरमा आगजनि गरिएको छ । धनकुटाको पख्रिबास नगरपालिका डाँडा खर्कमा वडाध्यक्ष र श्रीमती सुतेको अवस्थामा बाहिरबाट ताला लगाएर घरमा आगो लगाई दिएको प्रहरीले जनाएको छ ।
तल्लो तलामा किचनमा सिलिण्डरको छेउमा रहेको कपडामा आगो लागेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार वडाध्यक्ष श्रीमती सहित माथिल्लो तलामा सुतेको अवस्थामा तल्लो तलामा आगो लागेको छ । आगो लागेको बेला वडाध्यक्ष सुत्ने तलामा ताला समेत लगाइएको पाइएको कोइरालाले बताए । उनले भने, घटनाका विषयमा प्रारम्भिक छानिबन भइरहेको छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धानका क्रममा छौ ।
नेपाली काँग्रेसको तर्फबाट गुरागाईँ वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाईँका श्रीमान् श्रीमती सुतेका थिए । उनीहरू सुतिसकेपछि राती १२ बजेपछि तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको पाइएको वडाध्यक्ष गुरागाईँले बताए।
घरको तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांश सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरूले आगो निभाएका हुन् । आगो कसले लगाएको भन्ने खुलेको छैन ।