विराटनगर । कोशी प्रदेश सभामा नेकपा एमालेको झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको विषय प्रवेश गरेको छ। सङ्कल्प यात्रामा केही अमुक व्यक्ति तथा समूहको तर्फबाट यात्रालाई कोशी प्रवेश गर्न नदिने भनी गलत प्रचार गर्न खोजिएको भन्दै नेकपा एमालेका सांसदहरूले त्यस्तो अवस्था आए प्रतिकार हुने चेतावनी दिएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरुले कुनै पनि दलले आफ्ना गतिविधिहरू शान्तिपूर्ण रूपमा गर्न पाउने संवैधानिक तथा कानुनी व्यवस्था हुँदा हुँदै केही व्यक्तिहरूले एमालेलाई लक्षित गरी कोशी प्रदेश प्रवेश गर्न अनुमति लिनु पर्ने भन्दै गलत हल्ला चलाएको एमाले सांसदको भनाई छ। कोशी प्रदेश सभा सदस्य तिलचन पाठकले नेकपा एमालेको झुला घाट देखि चिवाभञ्ज्याङसम्म १७५० किलोमिटर यात्रा हुने बताए । ‘विकास निर्माणको अवस्था बुझ्न, जनतासँग छलफल गर्ने भन्दै सुरु भएको सङ्कल्प यात्रा कार्यक्रम असफल पार्न विभिन्न मानिसहरू लागेको पाइयो, उनले भने, यस्ता खालका गतिविधिहरू पहिला देखि नै हुँदै आएको छ, अहिलेको संवैधानिक व्यवस्था र संविधान विरोधी गतिविधि गर्न मिल्छ र ?’ उनले मुख्यमन्त्री, दलका नेता, सांसद तथा पूर्व प्रधानमन्त्रीलाई अमुक व्यक्तिका नाममा जिल्ला प्रवेश निषेध भनिएको अवस्थामा सङ्घीय सरकारले केही गर्न नसकेको बताए ।
अर्का प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले पहाड केन्द्रित जनसङ्ख्या अहिले तराई केन्द्रित हुँदै आएको बताए । विविध कारणले गर्दा पहाडबाट बसाइसराइको कारणले गर्दा पहाडी उर्वर भूमि बाँझो हुन थालेको छ, फलफूल, अन्नपात तथा नगदेबालीहरु छाडेर तराई बसाई सराई भईरहेको अवस्थामा त्यहाँको अबस्थालाई ध्यानमा राखेर एमालेले सङ्कल्प यात्रा सुरु गरेको उनले उल्लेख गरे । पुष्पलाल लोक मार्ग अन्तरगत सङ्कल्प समृद्धिको अभियान अन्तरगत १८ दिनको यात्रा मध्ये कोशी प्रदेशमा ३५० किलोमिटर ८ दिनमा यात्रा हुने बताए । ‘नेकपा एमालेको समृद्धिकोलागि सङ्कल्प यात्रालाई अवरोध गर्न, असफल पार्ने प्रयास भएको छ, उनले भने, कुनै शक्ति तथा समुदायलाई भ्रम फैलाउने गरी भएको गतिविधि एमालेलाई मान्य हुँदैन, त्यस्ता भ्रम फैलाएर पार्टीलाई बदनाम गर्ने कामको एमालेले प्रतिकार गर्छ ।’ उनले समृद्धिको यात्रालाई एमालेको मात्र नभई राष्ट्रको नै भएकोले सबै मिलेर यसलाई सफल पार्न आग्रह गरे । उनले निश्चित समुदायलाई लक्षित गर्ने र भ्रम फैलाउने कार्य बन्द गर्न समेत आग्रह गरे ।
प्रदेश सभा सदस्य विदुर कुमार लिङ्थेपले नेकपा एमालेको समृद्धिकोलागि सङ्कल्प यात्रा कोशी प्रदेशमा २६ गतेदेखि प्रवेश गर्ने बताए । त्यस कार्यक्रमलाई लक्षित गरी केही अमुक व्यक्तिहरूले एमालेको यो अभियानलाई कोशी प्रदेशमा प्रवेश गर्न नदिने भनी हल्ला चलाएको सुनाए । ‘ठुलो मानिसको बलिदानी पछि आएको व्यवस्थामा दलहरूले शान्तिपूर्ण कार्यक्रम गर्न पाइन्छ, उनले भने, कोशी प्रदेशमा प्रवेश गर्न कुनै अमुक ब्यक्तिको अनुमति/भिसा चाहिने अवस्था हो र ?’ प्राविधिक रुपले दोश्रो भएपनि जनमतको हिसावले पहिलो पार्टी एमाले जनताको भावना बुझ्न पहाडी यात्रामा निस्किएकोले एमालेलाई प्रवेश निषेध भनेर गरिएका हल्लाहरूलाई सरकारले गम्भीर रूपमा लिनु पर्ने बताए । ‘शान्तिपूर्ण आन्दोलनलाई एमालेले साथ र सहयोग गर्छ , उनले भने, यात्रा कसैको धम्की, विज्ञप्ति, आग्रह या पूर्वाग्रहले यो रोकिने वाला छैन ।’
प्रदेश सभा सदस्य किशोर चन्द दुलालले बजेट कार्यान्वयनमा जोड दिएका छन् भने ज्ञानेन्द्र सुबेदीले हात्ती आतङ्क नियन्त्रण गरी मृतक र धनको क्षति भएकाहरूलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । सांसद गम्बु शेर्पाले कोशी प्रदेश सभाको सभामुखको निर्वाचन कार्य तालिका सार्वजनिक गर्नु पर्ने माग गरे ।