इटहरी । इटहरी उपमहानगरपालिकाले स्मार्ट पार्किङ निर्माणको सम्भाव्यता अध्ययन गर्न गठित समितिले एक वर्ष बित्दा पनि बैठक सम्म बस्न नसकेको पाइएको छ ।
इटहरीमा सवारीसाधनको चाप बढी पछि स्मार्ट पार्किङ निर्माण गर्ने योजना अनुसार सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।
२०७९ साल असोज २८ गते बसेको इटहरी उपमहानगरपालिकाको १२४ औँ कार्यपालिका बैठकको निर्णय न. ५मा, स्मार्ट पार्किङ निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न र गराउन एवं प्रतिवेदन पेस गर्न ५ सदस्य समिति रहने निर्णय गरेको थियो ।
समितिको संयोजकमा पूर्वाधार विकास समितिका अध्यक्ष मान बहादुर विश्वकर्मा, सदस्यहरूमा अर्जुन दाहाल(भौतिक पूर्वाधार विज्ञ), तेज नारायण चौधरी (१६ न.का वडा अध्यक्ष),राधिका पौडेल( कार्यपालिका सदस्य) र सदस्य सचिवमा इन्जिनियर जीवन घिमिरे रहेका छन् ।
समिति गठन भएपछि समितिका सदस्यहरू सम्भाव्यता अध्ययन गर्न भनेर काठमाण्डौँ सम्म पुगेका थिए । तर समितिको बैठक बसेर मूर्त रूप दिन भने सकेनन् ।
अघिल्लो वर्षको असोज २८ गते बनेको समिति २०८० मङ्सिर सम्म आई पुग्दा बैठक सम्म बस्न नसकेको हो ।
समितिको बैठक बसेर हाल सम्म कुनै पनि निर्णय नभएको समितिका सदस्य सचिव समेत रहेका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । गठित समितिको तर्फबाट अहिले सम्म कुनै काम अगाडि नबढेको उनले बताए ।
समितिले अहिले सम्म कुनै सम्भाव्यताका विषयमा कुनै ड्राफ्ट सम्म पनि बनाउन सकेको छैन ।
निजी पार्किङ निर्माण तथा सञ्चालन कार्यविधि बन्नै सकेन
उपमहानगरपालिकाले पार्किङ निर्माण सञ्चालनका लागि अर्को पनि निर्णय गरेको छ । उपमहानगरको २०७९ पुस १ गते बसेको कार्यपालिका बैठकले निजी पार्किङ निर्माण र सञ्चालनका लागि कार्यविधि निर्माण गरी कार्यपालिकामा पेस गर्ने निर्णय गरेको छ ।
निजी स्तरबाट पार्किङ सञ्चालन गर्न सक्ने गरी उपमहानगरले निर्णय गरेको देखिन्छ । तर त्यस अनुसार पनि हाल सम्म कुनै पनि काम भएको देखिँदैन ।
निजी पार्किङ निर्माण तथा सञ्चालन कार्यविधि निर्माणको प्रक्रियामै रहेको र चाँडै पुरा हुने इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।
इटहरीमा कुनै व्यक्ति वा निजी तर्फबाट पार्किङ सञ्चालनका लागि सहज होस भनेर कार्यविधि बनाउन खोजिएको प्रमुख प्रशाकिय अधिकृत मेहताले जानकारी दिए ।
कार्यविधि निर्माण गर्ने भनेर निर्णय भनेको पनि एक वर्ष पुग्न केही दिन मात्रै बाँकी छ । तर हाल सम्म कार्यविधि बनेर कार्यपालिका मार्फत पास हुन सकेको छैन ।
यसअघि स्मार्ट पार्किङको योजना पनि फेल भएको थियो
२ वर्ष अघि पनि अघिल्लो सरकारले इटहरीमा अत्याधुनिक स्मार्ट पार्किङको योजना ल्याएको थियो । त्यो पनि पुरा नभई असफल भयो । अघिल्लो स्थानीय सरकारले करिब १० करोड रुपैयाँको लागतमा स्मार्ट पार्किङ बनाउने निर्णय गरेको थियो ।
वडा नम्बर ४ ट्याङग्रा खोला उत्तर पूर्वमा रहेको दुई कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ निर्माण प्रक्रिया सुरु गरेको उपमहानगरले त्यो योजना पुरा गर्न सकेन ।
स्मार्ट पार्किङ स्थलमा एकसाथ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने गरी डिजाइन र इस्टिमेट गरी काम अगाडि बढाए पनि बजेट अभावका कारण योजना असफल भएको थियो ।