विराटनगर ।  विराटनगर–७ सातघुम्ती स्थित कवाडी पसलमा भएको आगलागीमा परि मृत्यु भएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । 
महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर निर्णय गरेको छ । 
त्यसै गरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने भएको मेयर नागेश कोइरालाले बताए । 
विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधवार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीय सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।
घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीय रीता सरदार, ६५ वर्षीय सुनिता कामत र कटहरी–६ की ३० वर्षीय पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधवार साँझ काठमाडौँ लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ । 
काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ । काठमाडौँ लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको मेयर कोइरालाले बताए ।