विराटनगर । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोकले प्रजातन्त्रको सुरक्षाको आवाज पत्रकारले मात्र व्यक्त गर्न सक्ने बताएकी छिन् । विराटनगरमा नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कले आयोजना गरेको मानव बेचबिखन तथा मानव अधिकार सम्बन्धी खोजमूलक मल्टिमिडिया तालिमका क्रममा भोकले मिडिया शक्तिशाली बन्दा प्रजातन्त्र पनि बलियो हुने बताइन् । अहिलेको अवस्थामा खोजमूलक समाचारको माध्यमाबाट सत्य र तथ्य उजागर गरी मानव अधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन सकिने बताइन् । उनले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको मामिलामा अस्ट्रेलिया सरकार प्रतिबद्ध रहेको बताउँदै भोकले विश्वमा अहिले पनि ८० प्रतिशत वाक स्वतन्त्रता हनन हुने गरेको सुनाइन् । उनले एक वर्षमा ६७ जना पत्रकारले आफ्नो काम गर्ने सिलसिलामा ज्यान गुमाउनु परेको समेत बताइन् । मानव अधिकारको विषय चुनौतीपूर्ण अवस्थामा रहेको उनले बताएकी छिन् । ‘मानव बेचबिखन र मानव अधिकारको विषय अहिले पनि चुनौतीपूर्ण अवस्थामा रहेको छ, उनले भनिन्, अरू चुनौतीहरू आउन सक्छ ।’
अस्ट्रेलियन राजदूत भोकले लैङ्गिक हिंसा विश्वव्यापी समस्याको रूपमा रहेको बताइन् । उनले अस्ट्रेलियामा समेत हरेक ३ जना मध्ये एक जना महिलाले हिंसा भोग्ने गरेको तथ्य सुनाइन् । ‘अस्ट्रेलियामा समेत हरेक ५ जनामा एक जनाले यौनिक हिंसा भोग्ने गरेका छन्, उनले भनिन्, प्रत्येक हप्ता लैङ्गिक हिंसाका कारण एक जनाले मृत्युवरण गर्नु पर्ने अबस्था छ ।’ अस्ट्रेलियामा समेत लैङ्गिक हिंसा ठुलो चुनौतीको रूपमा रहेको उनको भनाई छ। जस्तो सुकै अवस्थामा पनि अस्ट्रेलिया सबै खालको हिंसाको अन्त्यकालागि रणनीतिक योजना बनाएर कार्यान्वयनमा रहेकोमा भोकले जोड दिइन् ।
भोकले मानव अधिकार हनन र लैङ्गिक हिंसा अन्त्यकोलागि सहकार्यमा अस्ट्रेलियाले एक पक्षीय, दुई पक्षीय, बहुपक्षीय र क्षेत्रीय रूपमा सहकार्य गरेर काम भइरहेको बताइन् । उनले सन् २०२३ मा अझ बढी मानव बेचबिखन रोकथामका अभियानमा काम भइरहेको बताइन् । इलाम, मोरङ, सुनसरी र झापामा मानव बेचबिखनको रोकथामको लागि विगतका दिनहरूदेखि नै काम भइरहेको उनको भनाई छ। नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कसँगको सहकार्यले मानव अधिकार र मानव बेचबिखन विरुद्धको अभियानलाई खोजी पत्रकारिता मार्फत थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गरिन् ।