विराटनगर । नेकपा एमालेले सुरु गरेको झुला घाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ ।एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरूले सङ्कल्प यात्रा पहिचानवादी प्रति लक्षित नभएको भन्दै बन्द हडताल लगायतका कार्यक्रम फिर्ता लिन एमालेले आग्रह गरेको छ ।
सङ्कल्प यात्रा मङ्सिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरिका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्य तालिका अनुसार तीन हप्ते कार्यक्रम गत मङ्सिर १४ गते बैतडीको झुला घाटबाट झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।
इन्चार्ज महासेठले नेकपा एमालेको पाचौ बैठकमा प्रस्ताव गरेको र छैठौ बैठकले यात्रा गर्ने निर्णय गरेकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे । उनले भने,‘ यो यात्रा मध्य पहाडको समस्या पहिचान र समाधानका केन्द्रित छ एमालेको यो अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला ।’ उनले एमालेको राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको भन्दै उनले कोशी प्रदेश प्रदेशसभाको दुई तिहाइ बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने बताए ।
एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रित गर्न आग्रह गरे । उनले भने दबाब मूलक आन्दोलन गर्ने भए कोशी प्रदेशमा सभामा केन्द्रित गर्न अनुरोध छ ।’ एमालेको १८७९ को यात्रामा पहिचानवादीको साइनो सम्बन्ध छैन । समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उनले पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको बताए ।संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्नु पर्छ ।’ असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्न खोजेको भए आन्दोलन फिक्का मात्र नभएर अर्थहीन हुने अवस्थामा पुग्ने नेता राईको दाबी छ ।
मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रीय अभियान आगामी मङ्सिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम रहेको छ । मङ्सिर २६ गते पुस २ गते सम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनकाअनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको वसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने छ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।