विराटनगर । एमालेले सुरु बैतडीको झुला घाटबाट सुरु गरेको पुष्पलाल मध्यपहाडि मार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राका लागि सुरक्षामा कुनै समस्या नभएको प्रदेश स्थित सुरक्षा निकायले दाबी गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कोशी प्रदेश स्थित प्रमुखहरूले अभियानका लागि सुरक्षामा कुनै समस्या नहुने दाबी गरेका छन् ।
एमालेले सुरु गरेको अभियानलाई लक्षित गरी पहिचानवादीहरूले सार्वजनिक गरेको बन्द हडताल र विरोधका कार्यक्रमले अभियान प्रभावित नहुने सुरक्षा निकायका प्रमुखहरूले बताएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै सशस्त्र प्रहरीका डिआइजी अञ्जनी कुमार पोख्रेलले अभियानका लागि सुरक्षा अवस्था मिलाइएको बताए ।
उनले भने हामीले सूक्ष्म रूपमा अध्ययन गरेका छौ । अवाश्यकता अनुसार हामी फोर्स परिचालन गर्छौ । अहिले सम्म त्यस्तो समस्या देखिएको छैन । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाका लागि सबै काम गरेको बताए ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरूलाई सुरक्षा अवस्था मिलाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिएका छन् ।
उनले एमालेको सङ्कल्प यात्राका विषयमा शनिवार कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरूलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
नेकपा एमालेको मध्य पहाडी लोक मार्ग केन्द्रित झुला घाट–चिवा भन्ज्याङ यात्रा अभियान अन्तरगत मध्य पहाडी लोक मार्ग केन्द्रित उक्त कार्यक्रममा बारेमा शनिवार भर्चुअल बैठक भएको थियो ।
बैठकमा डीआजी बास्तोलाले कार्यक्रम स्थल, आवागमन मार्ग लगायतका स्थानहरूमा प्रहरी परिचालन गरी कुनै अप्रिय घटनाहरू हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै त्यस्ता अवाञ्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।
एमालेले आयोजना गरेको सङ्कल्प यात्रा मङ्सिर २६ गते कोशी प्रदेशमा आइपुग्ने छ । एमालेको अभियानलाई लिएर पहिचानवादीहरूले मध्यपहाडि मार्ग बन्दको आव्हान गरेका छन् ।