विराटनगर । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाले सचेतनामूलक र्‍याली निकालेको छ। विराटनगर महानगरपालिकाबाट सुरु भएको र्‍यालीले गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन समेत गरिएको थियो । र्‍याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानवअधिकार र लैङ्गिक हिंसा विरुद्धको अभियानलाई दिवसमा मात्रै सीमित राख्न नहुनेमा जोड दिए । उनले सबै सचेत भए लैङ्गिक हिंसा र मानवअधिकार हनन्का घटनामा कमी आउने बताए।  उपमेयर शिल्पा निराला कार्कीले आत्मादेखि नै हिंसा गर्दिन भन्ने प्रण गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।  कतै हिंसा देखिए त्यसको प्रतिकार गर्नुपर्नेमा उनको  जोड थियो । र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी, महानगरका कर्मचारी, माइती नेपाल, ओरेक,   सामुदायिक प्रहरी सेवा केन्द्र  तीन पैनी, साना हातहरू नेपाल, एवीसी नेपाल, महेन्द्र मोरङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसलगायत एक दर्जनभन्दा बढी संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।